जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार २१:३१

सरकारको स्वेच्छाचारी शैली प्रति एमालेको आपत्ति, संगठन एकतामा जोड


काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारको स्वेच्छाचारी कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैठकमा वर्तमान सरकारले स्वेच्छाचारी ढंगले काम गरिरहेको, अध्यादेशमार्फत कुशासन चलाउन खोजिएको तथा संसदीय मान्यता र अभ्यासको उल्लंघन हुने गतिविधि बढेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ। एमालेले लोकतान्त्रिक पद्धति, संसदीय मूल्य–मान्यता र संवैधानिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिनुभयो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे पनि छलफल भएको बताइएकाे छ ।

बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता पनि टुंग्याएको छ। वरीयतामा अध्यक्ष ओलीपछि उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त रहने निर्णय गरेकाे छ । त्यस्तै पार्टी महसचिव  शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट र योगेश भट्टराई लगायतका नेताहरूकाे वरियादा निर्धारण भएकाे छ। बैठकले गरेको वरीयता निर्धारणअनुसार  सचिवमहेश बस्नेत १९औँ स्थानमा रहनुभएको छ।

एमालेले पार्टी संगठनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था सुरु गरेको छ। अबदेखि पार्टी सदस्यता लिनका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको छ। साथै, सम्पूर्ण सदस्यलाई यथाशीघ्र सदस्यता नवीकरण गर्न पनि पार्टीले निर्देशन दिएको छ।

बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको बताइएकाे छ। निर्णयकाे लिखित दस्तावेज हालसम्म सार्वजनिक भएकाे छैन ।

यस्ताे छ एमालेका नेताहरुकाे वरियादा

अध्यक्ष

केपी शर्मा ओली

उपाध्यक्षहरू

रामबहादुर थापा

विष्णुप्रसाद पौडेल

पृथ्वीसुब्बा गुरुङ

गोकर्ण विष्ट

रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिवहरू

लेखराज भट्ट

योगेश भट्टराई

रघुवीर महासेठ

सचिवहरू

छविलाल विश्वकर्मा

पद्मा अर्याल

खगराज अधिकारी

भानुभक्त ढकाल

यामलाल कँडेल

शेरधन राई

राजन भट्टराई

हिक्मत कार्की

महेश बस्नेत