जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार ०९:०३

तस्करीको अखडा बन्दै न्यूरोड, ठुलो परिमाणमा भेप बरामद


काठमाडौं, जेठ १२ । काठमाडौंको न्युरोडबाट प्रहरीले ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मार्दा ठूलो परिमाणमा भेप बरामद भएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दिनुभएको जानकारीअनुसार आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार ५ सय थान भेप प्रहरीले बरामद भएको छ ।

सो भेप टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको छ । अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आँकलन गरिएको छ ।