जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १७:२८

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब, कृषिमा ४६ अर्ब र खेलकुदमा ४ अर्ब बजेट


काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, कृषि तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको गुणस्तर सुधार, प्राविधिक शिक्षा विस्तार तथा विद्यालय पूर्वाधार विकासमा सरकारले विशेष जोड दिएको बताउनुभयो ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास क्षेत्रका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा, सिंचाइ विस्तार तथा किसान प्रोत्साहन कार्यक्रमलाई प्राथमिकतामा राखिएको सरकारको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याइएको घोषणा पनि गर्नुभयो । खेल पूर्वाधार निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन र प्रतियोगितामा नेपालको सहभागिता सुदृढ बनाउने उद्देश्यले बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन गर्न सक्ने गरी आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने घोषणा पनि गर्नुभयो ।

सरकारले शिक्षा, कृषि र खेलकुद क्षेत्रलाई मानव विकास, उत्पादन वृद्धि र राष्ट्रिय पहिचानसँग जोडिएका प्राथमिक क्षेत्रका रूपमा अघि बढाएको जनाएको छ ।

सरकारले वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ ।