काठमाडौं, जेठ १७ । नेकपा (एमाले)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसलाई आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य टिप्पणीको संज्ञा दिनुभएको हो। ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ भनेर संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ,’ ज्ञवालीले लेख्नुभएको छ।
उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान र सीमा सम्बन्धी स्थापित नीतिमाथि प्रश्न उठाएको संकेत गर्नुभएको छ। नेपालको संसदले सर्वसम्मत रूपमा पारित गरेको राजनीतिक नक्सा र राष्ट्रिय सहमतिका विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने उहाँको धारणा छ।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमा माग्न आग्रह गर्नुभएको छ। ‘यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस्,’ उहाँले माग गर्नुभएको छ।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत विवादित क्षेत्रका विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री साहले ‘भारतले मात्र होइन, नेपालले पनि विभिन्न ठाउँमा भारतको सिमाना मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा त्यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ।
यसैक्रममा एमाले नेता ज्ञवालीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्