जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १६:५३

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन चल्न दिँदैनौँ : कांग्रेस सांसद अभिषेकप्रताप शाह 


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग पुनः दोहोर्‍याएको छ। कांग्रेसले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर सदनमा स्पष्ट धारणा नराखेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी पनि दिएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक भएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले पर्याप्त तयारी र तथ्यबिना यस्तो संवेदनशील विषयमा धारणा राख्नुभएको हो भने त्यो चिन्ताको विषय भएको उल्लेख गर्नुभयो। ‘प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन चल्न दिँदैनौँ,’ सांसद शाहले भन्नुभयो।

उहाँले प्रधानमन्त्रीको भनाइ आकस्मिक रूपमा आएको हो वा सोचविचार गरेर आएको हो भन्ने विषय अझ गम्भीर रहेको बताउनुभयो। ‘प्रधानमन्त्रीले तयारी नगरी आफ्नो स्टेटमेन्ट दिनुभएको हो भने त्यो चिन्ताजनक विषय हो। तर सोचेसम्झेरै यस्तो अभिव्यक्ति दिनुभएको हो भने त्यो अझ खतरनाक संकेत हुन सक्छ,’ उहाँले सदनमा भन्नुभयो।

सांसद शाहले सीमा र राष्ट्रियताको विषय प्रत्यक्ष रूपमा राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यस्ता विषयमा प्रधानमन्त्रीले अत्यन्त जिम्मेवार र संवेदनशील भएर धारणा राख्नुपर्ने बताउनुभयो। ‘यो राष्ट्रिय सुरक्षा सम्बन्धी विषय हो। राष्ट्रिय सुरक्षासँग गाँसिएको विषयलाई हल्का रूपमा लिन मिल्दैन,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। सोही विषयलाई लिएर संसदमा अवरोध जारी रहँदा प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टीकरण र माफीको माग थप चर्किएको छ।