रामेछाप, जेठ २१ । कुनै समय विदेशी पर्यटकको घुइँचो लाग्ने रामेछापको उमाकुण्ड गाउँपालिका–२ देउराली डाँडा अहिले सुनसान बनेको छ। एक समय पाइला टेक्ने ठाउँसमेत अभाव हुने यो क्षेत्र अहिले पर्यटकविहीन मात्र होइन, स्थानीय बासिन्दाको चहलपहलसमेत घटेर मानवविहीन बस्ती जस्तै देखिन थालेको छ।
पर्यटकको आवागमन बन्दप्रायः भएपछि धेरै स्थानीयले घरमा ताल्चा लगाएर अन्यत्र बसाइँ सरेका छन्। गाउँमा रहेका केही घरमा समेत पहिले जस्तो गतिविधि देखिँदैन। कहिलेकाहीँ फाट्टफुट्ट पुग्ने पर्यटकले मात्र विगतको व्यस्तता सम्झाउने गरेका छन्।
सोलुखुम्बुसम्म सडक सञ्जाल विस्तार हुनुअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुग्ने प्रमुख पदमार्गमध्ये देउराली डाँडा पनि एक थियो। विदेशी तथा स्वदेशी पर्यटकहरू दोलखाको जिरीसम्म सवारी साधनमार्फत पुगेर त्यहाँबाट पैदल यात्रा सुरु गर्दै रामेछापको शिवालय, देउराली डाँडा, बाम्ती भण्डार हुँदै सोलुखुम्बु प्रवेश गर्ने गर्दथे।
त्यतिबेला देउराली क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटल, लज तथा विभिन्न सेवा व्यवसाय सञ्चालनमा थिए। पर्यटकको बाक्लो उपस्थितिका कारण स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने गरेको थियो। तर सोलुखुम्बुसम्म सीधा सडक पुगेपछि पर्यटकहरूले पुरानो पदमार्ग प्रयोग गर्न छाडेका छन्। त्यसको प्रत्यक्ष असर देउराली डाँडामा परेको स्थानीयहरू बताउँछन्।
अहिले पर्यटकले भरिभराउ हुने देउराली डाँडा सुनसान देखिन्छ। एक समय पर्यटकको स्वागतमा सिँगारिएका घर र होटलहरू यतिबेला आगन्तुकको प्रतीक्षामा छन्। तर पर्यटकको गन्तव्य र यात्रा मार्ग परिवर्तन भएसँगै देउरालीको पुरानो रौनक हराएको छ।
स्थानीयका अनुसार पर्यटन गतिविधि घटेसँगै व्यवसाय बन्द हुने, रोजगारीका अवसर हराउने र बसाइँसराइ बढ्ने समस्या देखिएको छ। पर्यटनमा आधारित स्थानीय अर्थतन्त्र कमजोर बन्दै जाँदा देउराली डाँडाको भविष्यप्रति समेत चिन्ता बढ्न थालेको छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन तथा ऐतिहासिक पदमार्गको परिचय बोकेको देउराली डाँडा अहिले पुनः पर्यटक आकर्षित गर्ने नयाँ योजना र पूर्वाधारको प्रतीक्षामा रहेको स्थानीयवासीको भनाइ छ। एक समय सगरमाथा यात्राको प्रवेशद्वार मानिने यो क्षेत्र अहिले विगतका सुनौला दिनहरू सम्झँदै नयाँ सम्भावनाको खोजीमा रहेको छ।













प्रतिक्रिया दिनुहोस्