रामेछाप, जेठ २३ । नेकपा (एमाले) रामेछापको स्थानीय तह विकास विभागको बैठक जिल्ला कमिटी सदस्य तथा विभाग प्रमुख रमा घिसिङको अध्यक्षतामा सम्पन्न भएको छ।
पार्टी केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकको सञ्चालन विभागका सचिव शिव न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रेम लामाले राख्नुभएको थियो। बैठकमा वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, पार्टीका पदाधिकारीहरु, एमालेबाट निर्वाचित जिल्लाका जनप्रतिनिधि प्रतिनिधि लगायतको सहभागिता थियो ।
बैठकमा स्थानीय तहको विकास निर्माण, जनप्रतिनिधिहरूको भूमिका, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषय तथा पार्टीका आगामी कार्यक्रमका बारेमा विस्तृत छलफल गरिएको बताइएको छ।
सहभागीहरूले स्थानीय सरकारमार्फत जनअपेक्षा सम्बोधन गर्ने, विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउने तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
बैठकमा पार्टीको नीति र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विकास र सुशासनका सवालमा जनप्रतिनिधिहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो।
एमाले रामेछापले स्थानीय तहका जनप्रतिनिधिहरूबिच समन्वय, अनुभव आदान–प्रदान तथा विकासका साझा एजेण्डामा एकरूपता कायम गर्ने उद्देश्यले यस्ता बैठकहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्