रामेछाप, जेठ २७ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकको कार्यसूचीमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई निरन्तरता दिने विषय समावेश गरिएको छ। तर पछिल्ला दिनहरूमा प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेको छैन।
प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र उहाँले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग विपक्षी दलहरूको छ।
यसै मागलाई लिएर विपक्षी सांसदहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले पाँच मिनेट मौनधारणासमेत गरेका थिए।
विपक्षी दलहरूको अवरोध कायमै रहेका कारण आजको बैठक नियमित रूपमा सञ्चालन हुने वा पुनः प्रभावित हुने भन्ने विषयलाई चासोका साथ हेरिएको छ। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई समयमै निष्कर्षमा पुर्याउनुपर्ने दबाबका बीच संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयास भने जारी रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्