रामेछाप, जेठ २७ । सरकारले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने तथा विज्ञापन र सार्वजनिक सूचनाको वितरणमा विभेदकारी नीति अवलम्बन गरेको भन्दै रामेछापका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय रामेछाप अगाडि धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको आयोजनामा बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना कार्यक्रम सम्पन्न भएको हो। नेपाल पत्रकार महासंघको केन्द्रीय आन्दोलन कार्यक्रमअन्तर्गत जिल्लाका सञ्चारकर्मीहरू आन्दोलनमा सहभागी भएका थिए।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकसहित जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले पत्रकार महासंघ केन्द्रको निर्णयअनुसार चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। सरकारबाट विज्ञापन तथा सार्वजनिक सूचनाको प्रवाहसम्बन्धी विषयमा स्वेच्छाचारी र विभेदकारी निर्णय भएको भन्दै त्यसको विरोधमा पत्रकारहरू आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो।
महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले प्रेस तथा सञ्चार क्षेत्रलाई कमजोर बनाउने उद्देश्यले ल्याइएका नीतिहरू तत्काल सच्याउन सरकारसँग माग गर्नुभयो। वर्तमान आन्दोलनका कार्यक्रमपछि पनि माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिँदै उहाँले त्यसको जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने बताउनुभयो।
उहाँले बहुमतको आडमा सरकारले सञ्चारमाध्यमलाई अप्ठ्यारोमा पार्ने काम गरेको आरोप लगाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने धारणा व्यक्त गर्नुभयो। लाेकतन्त्रमा याे सैह्यय नहुने उहाँले स्पष्ट पार्नुभयाे ।
नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले सरकारका विभेदकारी निर्णयका कारण सञ्चार क्षेत्र थप सङ्कटमा पर्दै गएको बताउनुभयो। देशभरका पत्रकारहरू यही विषयलाई लिएर आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकार समुदाय अझ एकताबद्ध र सशक्त रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रवाह गर्ने गरी निर्देशन दिएपछि निजी सञ्चारमाध्यममाथि विभेद गरिएको भन्दै पत्रकार महासंघले विरोध जनाउँदै आएको छ। महासंघले उक्त निर्णयले नागरिकको सूचनाको हक, प्रेस स्वतन्त्रता तथा स्वतन्त्र सञ्चारमाध्यमको अस्तित्वमाथि नै चुनौती खडा गरेको जनाएको छ।
यही विषयलाई लिएर नेपाल पत्रकार महासंघको आह्वानमा देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेका छन्। रामेछापमा आयोजित धर्ना कार्यक्रम पनि सोही आन्दोलनको एक हिस्सा भएको महासंघले जनाएको छ । धर्ना कार्यक्रम जेठ २९ गते पनि रहेकाे महासंघले जनाएकाे छ ।













प्रतिक्रिया दिनुहोस्