काठमाडौं, जेठ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने विषयमा सदनमा आवाज उठाएपछि आफूलाई ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आएको बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध सुनियोजित रूपमा धम्कीपूर्ण सन्देशहरू आइरहेको दाबी गर्नुभयो। उहाँले नेपाल सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आफ्नो धारणा सार्वजनिक गरेपछि यस्ता धम्कीहरू आएको बताउनुभयो।
“९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानले सुनिश्चित गरेको व्यवस्थाअनुसार नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आवाज उठाउँदा मलाई ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आइरहेको छ,” उहाँले सदनमा भन्नुभयो।
सांसद ओलीले गणतन्त्र र धर्मनिरपेक्षताको नाममा फरक विचार राख्ने व्यक्तिलाई धम्की दिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको टिप्पणी गर्नुभयो। “के गणतन्त्रले ल्याएको धर्मनिरपेक्षताको फल यही हो ?” भन्दै उहाँले प्रश्न गर्नुभयो।
उहाँले आफू व्यक्तिगत रूपमा यस्ता धम्की सामना गर्न तयार रहे पनि यसलाई केवल आफ्नो विरुद्धको आक्रमणका रूपमा नभई सनातन धर्मप्रति आस्था राख्ने समुदायमाथिको प्रहारका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो।
सांसद ओलीले नेपालको संविधानको धारा २६ (३) ले धर्म परिवर्तन गराउन नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै पछिल्लो समय विभिन्न प्रलोभन देखाएर धर्मान्तरण गराउने गतिविधि भइरहेको आरोपसमेत लगाउनुभयो। उहाँले आफ्नो अभिव्यक्ति वास्तविक इसाई समुदायप्रति लक्षित नभई जबर्जस्ती वा प्रलोभनमा आधारित धर्मान्तरणविरुद्ध केन्द्रित रहेको स्पष्ट पार्नुभयो।
संसदमा उहाँले उठाएको विषयपछि सुरक्षा निकायको ध्यानाकर्षण भएको छ भने धम्कीसम्बन्धी घटनाको थप अनुसन्धान हुन सक्ने बताइएको छ।













प्रतिक्रिया दिनुहोस्