काठमाडौं, जेठ २८ । करका दर हेरफेर गरेर निश्चित व्यापारी समूहलाई लाभ पुर्याएको आरोप खेपिरहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रतिपक्षी सांसदहरूलाई लक्षित गर्दै धम्की दिनुभएकाे छ। बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?’ भन्दै प्रतिपक्षीलाई धम्की दिनुभएको हो।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूले अर्थ मन्त्रालयमा बसेर करका दर चलखेल गरेको तथा व्यापारी पोसेको भन्ने आरोप निराधार भएको दाबी गर्नुभयो। सांसदहरूले आफ्नो गरिमा आफैँ जोगाउनुपर्ने उल्लेख गर्दै उहाँले सम्मानित संसदको ओज घट्ने गतिविधि नगर्न आग्रह गर्नुभयो।
‘स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर कुटुकुटु कर चलायो, व्यापारी पोस्यो भन्ने कुराहरू सुनिए । सांसदले आफ्नो गरिमा आफैँ राख्नुपर्छ । सम्मानित संसदको ओज घटाउने कामतिर हामी जानु हुँदैन । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी धोका दिन सक्छौँ होला ? सक्दैनौँ,’ उहाँले भन्नुभयो।
आफूमाथि लगाइएका आरोपप्रति आक्रोश व्यक्त गर्दै उहाँले सार्वजनिक लेखा समितिमा समेत यसबारे स्पष्ट पारेको बताउनुभयो। केही सञ्चारमाध्यम र व्यक्तिहरूले दुई अर्ब रुपैयाँको अनियमितताको आशंका व्यक्त गरेको उल्लेख गर्दै उहाँले आफूबाट दुई रुपैयाँ बराबरको समेत बेइमानी प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको घोषणा गर्नुभयो।
‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ । केही खोस्टाहरूले लेखे, दुई अर्बको आशंका इत्यादि भनेर । दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको भेटिएमा म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवनबाट त्याग्न तयार छु । केवल दुई रुपैयाँ । यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ । तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?’ उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्तिलाई संसदमा प्रतिपक्षीप्रति गरिएको प्रत्यक्ष चुनौती र धम्कीकाे रूपमा हेरिएको छ। करका दर अन्तिम समयमा परिवर्तन गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याइएको आरोपलाई लिएर प्रमुख प्रतिपक्षीसहित सांसदहरूले सरकारसँग जवाफ मागिरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो।
अर्थमन्त्री वाग्लेले आफूमाथि लागेकाे आराेप कर्मचारीकाे थाप्लाेमा हालेर उम्कने प्रयास गर्नु भएकाे छ । आर्थिक विधेयकमा कर्मचारी तहबाट भएका केही प्राविधिक त्रुटिहरूलाई विधिसम्मत प्रक्रियामार्फत सच्याइएको उहाँले दाबी गर्नुभयाे । यसमा कुनै किसिमको छलछाम वा अनियमितता नभएको उहाँको दाबी छ।
बजेट सार्वजनिक भएपछि विद्युतीय सवारीसाधनको भन्सार तथा करका दरमा भएको परिवर्तनलाई लिएर व्यापक बहस भइरहेको छ। प्रतिपक्षी दलहरूले यस विषयमा छानबिनको माग गर्दै आएका छन् भने सरकारले भने सबै निर्णय कानुनसम्मत र पारदर्शी ढंगले भएको बताउँदै आएको छ।
संसदमै अर्थमन्त्रीबाट आएको ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?’ भन्ने अभिव्यक्तिले बजेटमाथिको राजनीतिक विवादलाई थप तातो बनाएको छ। अब प्रतिपक्षी दलहरूले यसप्रति कस्तो प्रतिक्रिया जनाउँछन् र कर दर हेरफेरसम्बन्धी विवादले कुन दिशा लिन्छ भन्ने विषय चासोका साथ हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्