काठमाडौं, असार १ । अन्ततः अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति जुटेको छ । दुई देशबीचको सहमतिपछि सोमबार प्रारम्भिक कारोबारमै विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ ।
महिनौंदेखि जारी युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै इरानसँगको प्रारम्भिक सम्झौता भएको जानकारी दिनुभएको छ । इरानी अधिकारीहरूले पनि सम्झौता भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्झौता सम्बन्धी समझदारीपत्र (एमओयू) मा भने आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ । यद्यपि सम्झौताका विस्तृत सर्तहरू अहिले सार्वजनिक गरिएको छैन ।
विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति भएको दुवै देशका अधिकारीहरूले स्वीकार गरेका छन ।
दुई देशबीच युद्ध अन्त्यका लागि मुख्य मध्यस्थता गरिरहनु भएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेख्दै सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको जानकारी दिनुभएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सोमबार रातिदेखि लेबनानसहित सबै मोर्चामा युद्ध र सैन्य गतिविधि स्थायी रूपमा रोक्ने जनाएको छ । अमेरिका–इरान वार्तामा सहभागी नभएको बताउँदै आएको इजरायलले सम्झौताबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर इजरायलको हकमा अमेरिकी निर्णय नै अन्तिम हुने दावी ट्रम्पको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्ग शुक्रबारदेखि पुनः खुल्ने बताउनु भएको छ । इरानले महिनौँदेखि प्रभावकारी रूपमा अवरोध गर्दै आएको उक्त मार्ग खुलाउने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन आफूले आदेश दिएको ट्रम्पले जनाउनु भएको छ ।
सम्झौताको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रारम्भिक कारोबारमा करिब ४ प्रतिशतले घट्दा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) ४.६ प्रतिशतभन्दा बढीले घटेको छ । एसियाली सेयर बजारमा भने वृद्धि देखिएको छ ।
इरानका उपविदेशमन्त्री कजिम गरिबाबादीले ६० दिने युद्धविराम अवधिमा थप विस्तृत सम्झौताका लागि वार्ता हुने बताउनु भएको छ । त्यसमा इरानमाथिको प्रतिबन्ध हटाउने विषय पनि समेटिने जनाइएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले स्रोतहरूलाई उधृत गर्दै जनाएअनुसार इरानको विवादास्पद आणविक कार्यक्रमको भविष्य पनि पछिल्ला चरणको वार्तामा टुंग्याइनेछ । इरानले आणविक हतियार बनाउने उद्देश्य अस्वीकार गर्दै आएको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तत्कालीन राष्ट्रपति बाराक ओबामाको समयमा सन् २०१५ मा भएको बहुपक्षीय इरान आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्नुभएको थियो । उक्त सम्झौताअन्तर्गत इरानमाथिको प्रतिबन्ध खुकुलो बनाउने सर्तमा उसले आफ्नो आणविक कार्यक्रम सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्न सहमति जनाएको थियो ।
अमेरिका सम्झौताबाट बाहिरिएपछि इरानले युरेनियम प्रशोधन तीव्र बनाएको थियो । हाल इरानसँग ६० प्रतिशत प्रशोधित ४ सय किलोभन्दा बढी युरेनियम रहेको अनुमान गरिएको छ । यही भण्डारको व्यवस्थापन आगामी वार्ताको मुख्य विवाद बन्न सक्ने बताइएको छ ।
सम्झौता घोषणा हुनुअघि रोयटर्ससँग कुरा गर्दै एक वरिष्ठ इरानी अधिकारीले प्रारम्भिक मस्यौदाअनुसार अमेरिकाले २५ अर्ब डलर बराबरको रोक्का इरानी सम्पत्ति मुक्त गर्ने बताएका छन ।
अर्कोतर्फ अमेरिकी अधिकारीहरूले अन्ततः इरानको आणविक कार्यक्रम विघटन गरिने, उच्चस्तरको संवर्धित युरेनियम नष्ट वा देशबाहिर लगिने दाबी गरेका छन । तर इरानले भने आफ्नै देशभित्र युरेनियमलाई कमजोर बनाउने विकल्प खोजिरहेको बताइएको छ ।
दुई देशबीचको सम्झौताअघि आइतबार इजरायलले लेबनानमा गरेको आक्रमणले तनाव थप बढाएको थियो । सो घटनाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र ट्रम्पबीच लेबननमा सैन्य कारबाही सीमित गर्ने विषयमा मतभेद रहेको देखाएको छ ।
इजरायलले लेबनानमा आफ्नो सैन्य गतिविधिको स्वतन्त्रता कायम राख्ने बताइरहेको छ भने इरानले त्यहाँ पूर्ण युद्धविरामलाई आफ्नो प्रमुख सर्त बनाएको थियो । इजरायली टेलिभिजन एन–१२ का अनुसार ट्रम्पले आइतबार फोनमार्फत नेतन्याहूलाई शान्ति सम्झौताबारे जानकारी दिनुभएको थियो । यसैबीच ट्रम्पले द न्युयोर्क टाइम्सलाई दिएको अन्तरवार्तमा नेतन्याहू धेरै कठिन व्यक्ति भन्दै इजरायललाई आणविक हतियारयुक्त इरानबाट बचाएकोमा आफूलाई धन्यवाद दिनुपर्ने बताउनु भएको छ ।
फेब्रुअरी २८ मा अमेरिकी र इजरायली सेनाले इरानमाथि आक्रमण थालेपछि सुरु भएको द्वन्द्वमा हजारौं मानिस मारिएका छन्। जसमा अधिकांश इरान र लेबननका नागरिक रहेका बताइएको छ । युद्धका क्रममा इरानले इजरायल तथा अमेरिकी सैन्य आधार रहेका खाडी मुलुकहरूमा आक्रमण गरेको थियो भने हर्मुज जलमार्ग अवरोध गरेपछि विश्व ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको थियो । सहमतिसँगै झण्डैपाँच महिना लामो युद्ध अन्त्य भएको छ ।













प्रतिक्रिया दिनुहोस्