काठमाडौं, असार ३ । सामाजिक सञ्जालमा युवतीलाई खुकुरी देखाएर डरत्रासमा पार्दै कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीका अनुसार मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेको, आपत्तिजनक शब्द प्रयोग गरेको तथा त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो। पक्राउका क्रममा उहाँको साथबाट विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जीवराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाको प्रकृति हेर्दा पक्राउ परेका व्यक्तिविरुद्ध कुटपिट, अभद्र व्यवहार, हातहतियार प्रदर्शन तथा लागुऔषधसम्बन्धी गरी तीनदेखि चार प्रकारका मुद्दा आकर्षित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै घटनाको चौतर्फी आलोचना भएको थियो। दोषीमाथि कडा कारबाहीको माग गर्दै विभिन्न क्षेत्रबाट आवाज उठेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्