जनता टाइम्स

४ असार २०८३, बिहीबार १३:५७

एमाले अडान : प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने र बिवाइडी गाडी प्रकरणमा संसदीय छानबिन समिति अनिवार्य


काठमाडौं, असार ४ । प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्ने र बिवाइडी गाडी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने बटमलाइन सुनाएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले यस्तो बटमलाइन सुनाउनु भएको हो । सांसद पोखरेलले सनकका आधारमा अघि बढ्न खोजे दुर्घटनाको बाटोमा जाने चेतावनीसमेत दिए । उहाँले प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसदमा बोलेको विषय अझै नसच्याइएको र संसदको रेकर्डबाट नहटाइएको विषयले सरकार कता जाँदैछ भन्ने प्रश्न उठेको बताउनु भयो ।

‘१९ दिन भयो मैले गल्ती गरेँ भन्नुभएको छैन। देशलाई हेप्नुभयो, ३ करोड नेपाली जनतालाई हेप्नुभयो। प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो। प्रधानमन्त्री संसदमा आएर स्पष्ट पार्नुपर्छ। प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्ति, अर्थमन्त्रीको संसदमा धम्कीपूर्ण बोलेको भाषा, पूर्वाधारमन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की। यी सबै कुराले सरकार कता जाँदैछरु सरकारको यात्रा कुन दिशामा होरु यो सनकको आधारमा सरकार अघि बढ्यो भने कुनै राम्रो ठाउँमा पुग्दैन। देश निर्माणको बाटोमा पुग्दैन। दुर्घटनाको बाटोमा जान्छ,’ सांसद पोखरेलले भन्नुभयो ।

उहाँले कर्मचारीलाई आतंकित पार्ने काम नगर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ । ‘कर्मचारीलाई आतंकित गर्ने, अपमान गर्ने अपशब्द प्रयोग गर्ने यस प्रकारका गतिविधि देखिएका छन्। यो राम्रो संकेत होइन,’ पोखरेलले भन्नुभयो ।