जनता टाइम्स

४ असार २०८३, बिहीबार १९:३०

कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनको छानबिन प्रतिवेदन


काठमाडौं, असार ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र गृहमन्त्री सुधन गुरुङलाई सुनपानी छर्किएको भनिएको छानबिन प्रतिवेदन मागेको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नरेन्द्रकुमार केरुङले गृहमन्त्रीको छानविन प्रतिवेदन माग्नुभएको हो ।

उहाँले प्रधानमन्त्री शाहले संसद्‌मा ‘नेपालले भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रतिको जति निन्दा गरे पनि कम हुने भन्दै कडा आपत्ति पनि जनाउनु भयो ।
३ करोड नेपालीको भावनामा चोट पुगेको भन्दै प्रधानमन्त्रीलाई रोष्टममा उभिएर सो विषयमा माफी माग्न वा स्पष्ट पार्न आग्रह गर्दै केरुङले प्रधानमन्त्री शाहको त्यो विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

यस्तै केरुङले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिनका लागि गठित आयोगको प्रतिवेदन र मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएकोमा कडा आपत्ति जनाउनु भयो ।

‘गृहमन्त्रीलाई कसरी सफाइ मिल्यो र प्रतिवेदनमा के छ भन्ने कुरा आम नागरिकले जान्न पाउनुपर्छ,’ केरुङले भन्नुभयो । उहाँले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै एकातिर सुशासनको नारा दिने र अर्कोतिर विपक्षी दललाई धम्क्याउने तथा संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने सरकारको कार्यशैली स्वीकार्य नहुने भन्दै सचेत गराउनु भयो ।