जनता टाइम्स

४ असार २०८३, बिहीबार १९:४८

एमालेको प्रश्न : प्रधानमन्त्रीको अधिकार अर्थमन्त्रीलाई स्थायी रूपमा दिइएको हो ?


काठमाडौं, असार ४ ।  प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसदमा जवाफ दिन खोजेपछि विपक्षी दलहरूले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा एमाले सांसद गुरु बराल ले मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिने विषयमा प्रधानमन्त्रीको भूमिका र अधिकार प्रत्यायोजनबारे प्रश्न उठाउनुभएको हो।

उहाँले नियमावलीअनुसार सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्रीका जिम्मेवारी अन्तर्गतका मन्त्रालयहरूको जवाफ अर्थमन्त्रीमार्फत दिन खोजिएकोप्रति असन्तुष्टि जनाउनुभयो।

“प्रधानमन्त्रीले स्थायी रूपमा अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ?” भन्दै सांसद बरालले प्रश्न गर्नुभयो।

उहाँले रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री कार्यालय स्वयं प्रधानमन्त्री मातहत रहेकाले यस्तो अभ्यासले उचित सन्देश नदिने बताउनुभयो।

सभामुखले भने प्रधानमन्त्रीले अर्थमन्त्रीलाई अधिकार दिएर जवाफ दिन पठाएको भन्दै बैठकको कार्यसूची अघि बढाउनुभएको थियो।