जनता टाइम्स

६ असार २०८३, शनिबार ०९:१५

एमालेले सुदूरपश्चिममा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्दै


धनगढी, असार ६ । नेकपा (एमाले) ले आज सुदूरपश्चिम प्रदेशमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ।

प्रदेशस्तरको उक्त कार्यक्रमका लागि पार्टीका कार्यदलका नेताहरू धनगढी पुगिसकेका छन्। कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ।

पार्टीका उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोख्रेललगायत नेताहरू धनगढी पुगेको जनाइएको छ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रदेश सचिव रणबहादुर चन्दका अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूगोलतर्फका १९ जना केन्द्रीय सदस्य, ९ जिल्लाका पाँच–पाँच जना पदाधिकारी तथा प्रदेश कमिटीका ५ पदाधिकारी गरी प्रतिनिधिहरूको सहभागिता रहनेछ।

बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीलाई अझ सशक्त बनाउन आवश्यक सुझाव संकलन गरिनेछ।

भोलि भने पार्टी जागरण अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम र प्रदेशस्तरीय पूर्ण बैठक आयोजना हुने र सो कार्यक्रममा महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने जनाइएको छ।