जनता टाइम्स

८ असार २०८३, सोमबार ०८:५३

अमेरिका–इरान वार्ताले बनायो ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य, उच्चस्तरीय निगरानी समिति गठन


काठमाडौं, असार ८ । कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ ।

वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन् ।स्विट्जरल्यान्डको बुर्गेनस्टकस्थित लेक ल्युसर्न रिसोर्टमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ ।

वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनीतिक निर्देशन र निगरानी गर्न एक उच्च–स्तरीय समिति गठन गर्ने सहमति भएको छ । सो समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् ।

समितिले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेको छ । यसका साथै, स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको छ ।

लेबनानद्वन्द्व रोक्न सहमत

वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ । लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा ‘द्वन्द्व–न्युनीकरण कक्ष’ स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन् ।

संयुक्त विज्ञप्तिअनुसार बाँकी प्राविधिक विषयहरूमा छलफल गर्न यसै साता बुर्गेनस्टक रिसोर्टमा वार्ता निरन्तर जारी रहनेछ । कतार र पाकिस्तानले कूटनीतिक पहलमार्फत वार्तालाई सकारात्मक दिशातर्फ अघि बढाएको भन्दै अमेरिका र इरान दुवैलाई धन्यवाद दिएका छन् । उनीहरूले शान्तिपूर्ण समाधानप्रति दुवै पक्षले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै प्रक्रियामा सहयोग पुर्‍याउने अन्य मित्रराष्ट्रहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

यस वार्तालाई पछिल्ला वर्षहरूमा अमेरिका–इरान सम्बन्ध सुधार तथा क्षेत्रीय तनाव कम गर्ने दिशामा भएको महत्वपूर्ण कूटनीतिक प्रयास मानिएको छ ।