काठमाडौं, असार ८ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको भन्ने खबरप्रति प्रतिक्रिया जनाउँदै कानुनी राज्यमा निष्पक्ष अनुसन्धान र विधिको शासनको पालना हुनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने धारणा व्यक्त गर्नुभएको छ ।
बस्नेतले यस घटनालाई केवल एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले एमालेका नेता–कार्यकर्ता तथा समर्थकलाई यस्ता घटनाप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार कुनै पनि व्यक्तिमाथि हुने अन्यायले भविष्यमा समग्र राजनीतिक प्रणालीमाथि नै असर पार्न सक्ने भएकाले त्यसको लोकतान्त्रिक ढङ्गले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको भन्ने खबर सुन्नमा आएको छ । कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ । तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन । एमाले पङ्क्तिले पनि यसलाई केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा होइन, लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ । “कुखुरा मर्यो” भन्दा पनि “स्याल पल्कियो” भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ, किनकि आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ ।’












प्रतिक्रिया दिनुहोस्