जनता टाइम्स

१३ असार २०८३, शनिबार १६:५९

धुलिखेल–खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द हुने


काठमाडौं, १३ असार । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन १५ दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला सुरक्षा समिति काभ्रेको निर्णयअनुसार असार २२ गतेदेखि साउन ४ गतेसम्म उक्त सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यस अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म प्रवेश गर्न रोक लगाइनेछ।

उहाँका अनुसार रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारी साधन भने पूर्ववत् सञ्चालन गर्न दिइनेछ।

सवारी व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने जनाइएको छ।

यसअघि पनि गत चैत महिनामा यही सडकखण्डमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द गरी दिउँसो एकतर्फी सञ्चालन गरिएको थियो।

जिल्ला सुरक्षा समितिले निर्माण अवधिभर यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।