जनता टाइम्स

१४ असार २०८३, आईतवार ०७:२२

मदन भण्डारीको जन्मजयन्तीमा आज एउटै मञ्चमा ओली, प्रचण्ड र माधव नेपाल


काठमाडौं, असार १४।   काठमाडौंमा आज आयोजना हुने जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष कार्यक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी हुँदै हुनुहुन्छ।

मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमको प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ।

फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा उपस्थित हुन लागेकाले यस कार्यक्रमलाई विशेष राजनीतिक महत्वका साथ हेरिएको छ।

मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपालको कम्युनिष्ट आन्दोलनबारे केन्द्रित रहने कार्यक्रममा शीर्ष नेताहरूले समसामयिक राजनीतिक विषयमा पनि धारणा राख्ने अपेक्षा गरिएको छ।

यसअघि विराटनगरमा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका दलबीच एकता र एमालेसँग कार्यगत सहकार्यको सम्भावनाबारे अभिव्यक्ति दिनुभएको थियो। त्यसपछि आज हुने साझा उपस्थितिलाई राजनीतिक वृत्तमा थप चासोका साथ हेरिएको छ।