जनता टाइम्स

१४ असार २०८३, आईतवार १९:४८

एकै मञ्चमा उभिएर चार पूर्वप्रधानमन्त्रीको एक स्वर– कम्युनिष्टहरू मिल्नुपर्छ


काठमाडौं,  असार १४ । आज एउटै मञ्चमा उपस्थित भएका नेपालका चार जना कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरूले कम्युनिस्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी फाउन्डेशनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीको सन्दर्भमा काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको हो ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ’मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा उहाँहरूले कम्युनिस्टहरू मिल्नुपर्ने बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खडा भएको बताउनुभयो । चुनावअघि नै मिलेको भए कम्युनिस्टहरूले कम्तीमा सय सिट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नैपर्ने बताउनुभयो ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनुभयो । कम्युनिस्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताउनुभयो ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिस्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उहाँको भनाइ छ । मिल्न सक्नुपर्ने जति मिल्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिस्टहरूका नीति सही भएको दाबी गर्नुभयो । कम्युनिस्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको ’प्रतिगमन’लाई पराजित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गर्नुभयो । यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारिएको पुस्तकका लेखक रमेश रुछेन राईलाई २ लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गर्नुभयो ।