जनता टाइम्स

१८ असार २०८३, बिहीबार ०९:१४

शनिबारसम्म आरीघोप्टे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह


काठमाडौं, असार १८ ।  गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ ।

अहिले भने पानी पर्ने क्रम केही घटेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेश तराईको एक, दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ ।

राति पनि गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगमा तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा ठूलो पानी पर्ने सम्भावना छ ।

ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।