जनता टाइम्स

१८ असार २०८३, बिहीबार २०:२५

बिद्यालय सञ्चालक र शिक्षकमाथि लगाम : अब विद्यार्थीमाथि यस्ता काम गर्न लाग्यो प्रतिबन्ध


काठमाडौं, असार १८ । विद्यालयहरूले अबदेखि बिद्यालयमा विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषदले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा यस्तो ब्यवस्था गरिएको हो ।

पारित नियमावलीमा जबर्जस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने र काट्न लगाउने गर्दै आएका थिए । निजी बिद्यालयमा यो आतंक निकै बढी रहेको गुनासो अभिभावक र बिद्यार्थीले गर्दै आएका थिए ।

यही गुनासो सम्बोधन गर्दै सरकारले नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने ब्यवस्था गरेको हो । यस्तै विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।

लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने, बिद्यार्थीको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पुग्ने काम गर्न पनि नियमावलीमा रोक लगाइएको छ । यसैगरी निजी बिद्यालयको ज्याद्धती बनिसकेको शुल्क नतिरेको कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने प्रावधान पनि नियमावलीमा राखिएको छ ।

विद्यार्थीलाई सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्न नपाउने व्यवस्था नियमावलीमा राखिएको छ ।
सरकारले बिद्यार्थी र अभिभावकको गुनासो सम्बोधन गर्न यस प्रकारको ब्यवस्था गरेको हो ।