जनता टाइम्स

१८ असार २०८३, बिहीबार २१:२६

गोंगबु नयाँ बसपार्कबाट यात्रुलाई हैरानी दिने २३ जना पक्राउ


काठमाडौं,  असार १८ ।  काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख–हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक रूपमा हैरानी दिने गरेको जनगुनासोका आधारमा विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा उक्त संख्यामा व्यक्तिहरू पक्राउ परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले नयाँ बसपार्क क्षेत्रमा यात्रुको सुरक्षा, सहज आवागमन तथा मर्यादित सार्वजनिक सेवा सुनिश्चित गर्न यस्ता निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।