काठमाडौं, असार २० । नेपालका लागि चिनियाँ राजदूतले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन चार बुँदे प्रस्ताव राख्नुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत झ्याङ माओमिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित विशेष विचार गोष्ठीमा सम्बन्ध सुद्धृढ बनाउनका लागि चार बुँदे प्रस्ताव अघि सार्नुभएको हो ।
राजदूत माओमिङले नेपाल–चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्दै दुई देशका राजनीतिक दलहरूबीच गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यासहरू साटासाट गर्नुपर्ने पहिलो प्रस्ताव राख्नुभयो । यस्तै नेपालको विकास रणनीतिसँग बीआरआईलाई जोड्दै ‘ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को निर्माणलाई तीव्रता दिने उहाँको भनाई छ ।
उहाँले संयुक्त राष्ट्र संघ र सांघाई सहयोग संगठनजस्ता मञ्चहरूमा समन्वय गर्दै राष्ट्रपति सी चीनफिङद्वारा प्रस्तावित ग्लोवल डेभलपमेन्ट, ग्लोवल सेक्युरिटी, ग्लोवल सिभिलाइजेसन र ग्लोवल गभर्नेन्स इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
राजदूत माओमिङले युवा पुस्ताबीच भ्रमण र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरी नेपाल–चीन मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । पार्टीको सफलता र विशेषताबारे चर्चा गर्दै राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारुढ दल भएको र यसमा १० करोड १२ लाखभन्दा बढी सदस्य र ५४ लाखभन्दा बढी पार्टी संगठनहरू रहेको जानकारी दिनुभयो ।
माओमिङका अनुसार सीपीसीका ६ वटा विशिष्ट गुणहरूमा त्यको खोजी, जनतासँगको गहिरो सम्बन्ध, ऐतिहासिक जिम्मेवारी वोध, विकासको प्रवृत्ति पछ्याउने क्षमता, संघर्ता गर्ने शाहस र आत्म–सुदृढीकरणको प्रतिवद्धता रहेको छ ।

पार्टी निर्माण र सुशासनका सम्बन्धमा नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी सी चीनफिङ विचारधारा’को व्याख्या गर्दै राजदूत माओमिङले १४ वटा मुख्य सिद्धान्तमध्ये ५ बुँदामा विशेष जोड दिनुभयो । जसमा पार्टीको केन्द्रीकृत नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र आत्म-सुधार (भ्रष्टाचार नियन्त्रण) रहेका छन् ।
उहाँले चीनमा सन् २०२२ मा भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत १० लाखभन्दा बढी मुद्दा दर्ता गरी करिव नौ लाख ८३ हजार व्यक्तिलाई अनुशासनको कारबाही गरिएको जानकारी दिनुभयो ।यस्तै उहाँले विश्वमा देखा परेका विभिन्न सुरक्षा चुनौतीहरूका बीच चीनले नेपालका सबै राजनीतिक दलहरूसँग मिलेर साझा भविष्य निर्माण गर्न, विश्व शान्ति प्रवद्र्धन गर्न र मानव प्रगतिको यात्रामा योगदान पुर्याउन तयार रहेको चीन सरकारको औपचारिक धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्