काठमाडौं, असार २२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभा बैठकमा देशका विभिन्न क्षेत्रमा देखिएका विद्युत आपूर्ति अवरोध, अव्यवस्थित सडक विस्तार तथा खानेपानी अभावका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँहरूले नागरिकका आधारभूत समस्या समाधानमा सम्बन्धित निकायले शीघ्र पहल गर्न आग्रह गर्नुभएको हो।
प्रतिनिधिसभाको आकस्मिक तथा विशेष समयमा बोल्दै सांसद प्रकाश पाठकले झापाको अनारमनी ग्रिडमा आएको प्राविधिक समस्याका कारण बिर्तामोड, हल्दीबारी, भद्रपुर र कन्काईलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिनुभयो। ट्रान्सफर्मरमा आगलागी भएपछि अत्यधिक गर्मीका बीच नागरिक विद्युतविहीन हुनुपरेको उल्लेख गर्दै उहाँले दैनिकजसो हुने विद्युत अवरोध, लो–भोल्टेज र ओभरलोडको समस्या तत्काल समाधान गर्न ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो।
त्यसैगरी सांसद नरेन्द्रकुमार गुप्ताले वीरगञ्ज महानगरपालिकामा भइरहेको सडक विस्तारका क्रममा मानवीय संवेदनशीलताको ख्याल नगरिएको बताउनुभयो। उहाँले बजार क्षेत्रमा सडक फराकिलो बनाउने नाममा सयौँ वर्ष पुराना संरचनामा डोजर चलाइएको र त्यसबाट धेरै परिवार विस्थापित हुने अवस्थामा पुगेको उल्लेख गर्नुभयो। महानगरको निर्णयभन्दा बाहिर गएर संरचना भत्काइनु न्यायोचित नभएको भन्दै प्रभावित नागरिकको संरक्षण गर्न सरकारसँग आग्रह गर्नुभयो।
सांसद यज्ञमणि न्यौपानेले मोरङका उर्लाबारी, मिक्लाजुङ र लेटाङ क्षेत्रमा विद्युत तथा खानेपानीको अभाव गम्भीर रहेको बताउनुभयो। राजधानी काठमाडौंमा मेलम्चीको पानी वितरण भइरहँदा ग्रामीण क्षेत्रका नागरिक आधारभूत खानेपानी र नियमित विद्युत सेवाबाट वञ्चित हुनुपरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। ग्रामीण क्षेत्रका जनसरोकारका विषयलाई बजेटमा समेत पर्याप्त प्राथमिकता नदिइएको उहाँको भनाइ थियो।
सांसदहरूले संसदमार्फत उठाइएका यी जनजीविकासँग प्रत्यक्ष सम्बन्धित समस्यामा सम्बन्धित मन्त्रालयहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने र नागरिकको राज्यप्रतिको विश्वास कायम राख्न सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्