काठमाडौं, असार २७ । “देवताको शासन हो यो ! यहाँ देवतालाई दोष्दा पाप लाग्छ, पाप !” राहदानी विभाग अगाडि भएको आत्मदाह घटनापछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको टिप्पणीको सुरुआत यही वाक्यबाट गर्नुभएको छ। उहाँले आत्मदाह गर्ने युवालाई दोष दिने प्रवृत्तिको आलोचना गर्दै घटनालाई राज्यको शासन प्रणाली, बेरोजगारी, गरिबी र सामाजिक असंवेदनशीलताको परिणामका रूपमा चित्रण गर्नुभएको छ।
उहाँले टिप्पणीमा लेख्नुभएको छ, “आज तिम्लाई नै गाली गर्नेहरू पनि देखिए, म छक्क परेँ। राहदानी विभाग अगाडि, सायद विदेश जाने सोचमा थियौ तिमी। तिम्रै गल्तीले १० हजार रुपैयाँ जरिवाना तिर्न नसकेको कारण तिम्लाई कमजोर भन्नेहरू उनैका भक्त हुन्।” उहाँका अनुसार पीडितप्रति सहानुभूति प्रकट गर्नुको सट्टा दोषारोपण गर्ने प्रवृत्तिले समाजमा संवेदनशीलताको अभाव देखाएको छ।
अध्यक्ष साम्पाङले वर्तमान शासन व्यवस्थामाथि कडा टिप्पणी गर्दै लेख्नुभएको छ, “यो देवताको छु–मन्तर शासनमा दुःख र दुःखीको काम छैन। यहाँ पिर र व्यथाको कुरा गर्न मनाही छ। देवतालाई दोष्नु पाप हो। देवताले जे गरे पनि राम्रो भन्नु र मान्नु पर्छ।” उहाँले यस अभिव्यक्तिमार्फत जनताको पीडा र आवाजलाई राज्यले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको सङ्केत गर्नुभएको छ।
उहाँले आत्मदाह घटनाको जिम्मेवारी व्यक्तिमाथि मात्रै थोपर्ने तर्कप्रति पनि असहमति जनाउँदै लेख्नुभएको छ, “तिम्रो मृत्युको कारण तिमी आफैँ हौ भन्ने तिर तर्क गरिराछन् आज। बेकार छ नेपालीले आफ्नो ज्यान फालेर परिवर्तन ल्याउनु पनि, किनकि परिवर्तन पात्रमा हुन्छ, प्रवृत्तिमा होइन। हिजो अर्कै मान्छे थिए, आज अर्कै छन्, तर शासन उस्तै छ, प्रवृत्ति उस्तै छ।”
साम्पाङले देशमा युवाले अपेक्षा गरेअनुसारको सुशासन र अवसरको वातावरण निर्माण हुन नसकेको उल्लेख गर्दै रोजगारीको अभाव नै युवालाई बिदेसिन वा चरम निराशातर्फ धकेल्ने प्रमुख कारण बनेको धारणा राख्नुभएको छ। उहाँले लेख्नुभएको छ, “तिमीले चाहेको शासन, सुशासन कतै छैन यो देशमा। पसिनाको गन्ध आउने मान्छेहरूले युरोप–अमेरिकाबाट ल्याएको अत्तर गन्हाउने मान्छेलाई भोट दिइरहुञ्जेल तिमीले चाहेको परिवर्तन कहिल्यै आउँदैन।”
उहाँले गरिब र श्रमिक वर्गको पक्षमा काम गर्ने राजनीतिक शक्तिलाई जनताले पर्याप्त रूपमा नचिनेको पनि टिप्पणी गर्नुभएको छ। “गरिबले गरिबको हित गर्ने, गरिबको पक्षमा नीति बनाउने पार्टीलाई नचिन्नु पनि यो दुर्भाग्यको अर्को अहम् कारण हो,” उहाँले लेख्नुभएको छ।
अध्यक्ष साम्पाङले आत्मदाह गर्ने युवालाई आफ्नो दृष्टिमा केवल एउटा समाचार नभएको उल्लेख गर्दै भावुक अभिव्यक्ति दिनुभएको छ। उहाँले भन्नुभएको छ, “आज तिम्लाई दोष्ने र तिम्रो आत्मदाहमा रमाउनेहरूको जमात ठुलो छ। उनीहरूको लागि तिमी एउटा समाचार मात्रै हौ, तर मेरो लागि तिमी एउटा विम्ब हौ, घटना हौ, इतिहास हौ, विद्रोह र अमर सन्देश हौ।”
उहाँले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूले भोग्नुपरेको पीडा दीर्घकालसम्म रहने बताउनुभएको छ। “समाचार मात्रै मान्नेहरूका लागि तिमी मितिसँगै बितेर जानेछौ, तर तिम्रो परिवारलाई लागेको चोट, तिम्रा बा-आमा र आफन्तजनलाई लागेको चोट कहिल्यै निको नहुने गहिरो र सहन नसक्ने खालको छ। म त्यो महसुस गर्न सक्छु,” उहाँले लेख्नुभएको छ।
उहाँले आगामी दिनमा पनि पीडितको न्याय र युवाको रोजगारीको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ। “कोही तिम्रो न्यायको पक्षमा उभियोस् वा नउभियोस्, म सधैँ तिम्रो पक्षमा कराउनेछु, आवाज उठाउनेछु। तिमी जस्ता लाखौँ युवालाई यही देशमा रोजगारी दिनुपर्छ भन्ने माग लिएर एक्लै भए पनि सडक, सञ्जाल र सदनमा बरबराइरहनेछु,” उहाँले उल्लेख गर्नुभएको छ।
टिप्पणीको अन्त्यमा अध्यक्ष साम्पाङले आलोचनाबाट आफू विचलित नहुने जनाउँदै लेख्नुभएको छ, “जसले मलाई जति गाली गर्नु छ, गरोस्। मलाई बाल… आगो पिएर बाँच्ने विवश मेरो कथा छ।”
अध्यक्ष साम्पाङले उक्त घटनालाई एउटा व्यक्तिको मृत्युमा सीमित नराखी बेरोजगारी, गरिबी, सामाजिक असमानता र राज्यको जिम्मेवारीसँग जोडेर आफ्नो धारणा प्रस्तुत गर्नु गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्