काठमाडौं, असार २८ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारको दमन, जबर्जस्ती विस्थापन र पक्राउको विरोध गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सुकुम्बासीमाथि दमन गर्दै गैरन्यायिक रूपमा पक्राउ गरेको आरोप लगाएका छन्। उनीहरूले उचित व्यवस्थापन नगरी बस्ती हटाइएकाले अहिले डुबान, भोकमरी र बासको समस्यासँग जुध्न बाध्य भएको बताएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सुकुम्बासीको सुरक्षित आवास, सम्मानजनक पुनर्स्थापना तथा पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका थिए। उनीहरूले सरकारले सुकुम्बासीको समस्या समाधानभन्दा पनि दमनको नीति अपनाएको आरोपसमेत लगाए।
शनिबार कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा डुबान प्रभावित सुकुम्बासीको अवस्था बुझ्न पुगेका जेन–जी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापालगायत केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त घटनापछि सुकुम्बासी संगठनहरूले सरकारको कदमको विरोध गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्