काठमाडौं, असार २९ । पत्रकार तथा ब्लगर उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त हुनुभएको छ । असार २४ गते बसेको मिन्त्रपरिषदको बैठकले श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको निर्णयअनुसार श्रेष्ठलाई सोमवार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्ति पत्र प्रदान गर्नुभएको छ । नियुक्त पत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएकाप्रति उच्च अपेक्षा रहेको बताउनु भयो ।
सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा श्रेष्ठलाई छनोट गरेको जानकारीसमेत तिमिल्सिनाले दिनुभयो । यस्तै उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहने धारणा राख्नुभयो ।
उहाँले वर्तमान समयमा गलत सूचना र दुष्प्रचार सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले च्यानल नेपाल टेलिभिजनदेखि नागरिक दैनिकसम्म काम गरिसक्नु भएको छ । उहाँ नेपालमै पहिलो ब्लग सञ्चालन गर्ने ब्लगर पनि हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्