जनता टाइम्स

३१ असार २०८३, बुधबार २०:१०

रास्वपाभित्रै सरकारको आलोचना बढेपछि प्रतिनिधिसभा दुई साताका लागि स्थगित


काठमाडौं,  असार ३१ । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि चुलिन थालेपछि प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बस्ने गरी सूचना जारी गर्नुभएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गरेसँगै सरकारको कार्यसम्पादनबारे विपक्षी दलसँगै रास्वपाकै केही सांसदहरूले पनि खुलेर आलोचना गर्न थालेका छन्। विशेषगरी सुकुम्बासी व्यवस्थापन, सीमा विवाद, आत्मदाह प्रकरण तथा सरकारको समग्र कार्यशैलीलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेपछि सरकार थप दबाबमा परेको देखिएको छ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि संसद् स्थगित गर्ने विषयमा छलफल भएको थियो। बैठकमा सांसदहरूले जिल्ला भ्रमणको आवश्यकता र संसद्को कार्यसूची (बिजनेस) पर्याप्त नभएको भन्दै केही समय बैठक स्थगित गर्न सुझाव दिएका थिए।

पछिल्लो समय रास्वपाका सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, क्रान्तिशिखा धिताल, प्रकाशचन्द्र परियार, करिष्मा कठरिया र सुलभ खरेललगायतले सरकारका विभिन्न निर्णय र कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आलोचनात्मक धारणा व्यक्त गर्दै आएका छन्।

सरकारविरुद्ध विपक्षीको आलोचनामा सत्तारूढ दलकै केही सांसदहरूको स्वर मिसिन थालेपछि संसद् स्थगित हुने निर्णयलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।