काठमाडौं, साउन १ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले चुनौती र प्रहारको सामना गर्दै आएको उल्लेख गर्दै पार्टी धक्का खाए पनि समाप्त नभएको र नवीकृत भएर अझ सशक्त रूपमा अघि बढ्ने बताउनुभएको छ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पहलमा निर्माण गरिएको पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक कार्यक्रममा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान समयमा सत्यलाई झुटो र झुटोलाई सत्य साबित गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
उहाँले समाजमा कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने प्रवृत्ति सामाजिक संस्कारकै रूपमा विकसित हुने जोखिम बढेको बताउँदै यसले नयाँ पुस्ताको सोच र मूल्य–मान्यतामाथि समेत नकारात्मक प्रभाव पार्न सक्ने धारणा राख्नुभयो।
अध्यक्ष ओलीले नेपालको मौलिक संस्कार, संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण अहिले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यो कुनै व्यक्ति वा दललाई बदनाम गर्ने विषय मात्र नभई भावी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने गम्भीर प्रश्नसँग जोडिएको बताउनुभयो।
उहाँले पछिल्लो समय सबैभन्दा बढी प्रहार नेकपा (एमाले)माथि केन्द्रित भएको दाबी गर्दै पार्टीका नेता–कार्यकर्ता त्यसप्रति सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। अध्यक्ष ओलीले एमालेले विभिन्न राजनीतिक उतारचढाव र चुनौतीहरूको सामना गर्दै आएको स्मरण गराउँदै, “हामीले धक्का खाएका हौँ, सिद्धिएका होइनौँ। हामी नवीकृत भएर अघि बढ्नेछौँ,” भन्नुभयो।
उहाँले एमालेलाई कमजोर बनाउने र एक्ल्याउने प्रयास निरन्तर भइरहेको उल्लेख गर्दै एमाले कुनै सहारामा अडिएको संगठन नभई आँधी, हुरी र बाढीको सामना गर्दै हुर्किएको बलियो वृक्षजस्तै संगठन भएको बताउनुभयो। प्रतिकूल परिस्थितिमा आत्तिने स्वभाव एमालेको नभएको उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले समयको चुनौतीलाई पार्टीले बुझे पनि आफ्ना कार्यकर्तालाई आवश्यक स्तरमा वैचारिक तथा प्रविधिमैत्री प्रशिक्षण दिन नसक्दा विरोधी पक्षका आक्रमणको प्रभाव परेको स्वीकार गर्नुभयो। ती कमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई थप सुदृढ बनाइने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले आगामी दिनमा अझ चुनौतीहरू आउन सक्ने उल्लेख गर्दै एमालेसँग पुनर्जागरण र पुनरुत्थानको पर्याप्त क्षमता रहेको दाबी गर्नुभयो। सबै नेता–कार्यकर्ताले आत्मविश्वासका साथ एकताबद्ध भएर अघि बढे पार्टी थप सशक्त रूपमा स्थापित हुने विश्वास समेत अध्यक्ष ओलीले व्यक्त गर्नुभयो।
उहाँले देशमा आगो लगाउने काम नृशंस र जडवादी काम भएको बताउनुभयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई एमालेकाे पालामा भएका काम सार्वजनिक गर्न पनि आग्रह गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्