जनता टाइम्स

७ पुष २०७६, सोमबार ११:००

नेकपाले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन बनाउन शुरु गर्ने


काठमाडौं, पुष ७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले मदननगर बल्खुमा केन्द्रीय कार्यालय भवन बनाउन शुरु गर्ने भएको छ । तत्कालिन नेकपा एमालेको मुख्यालय रहेको भवन भुकम्पले चर्किएपछि धुम्बाराहीमा सरेको थियो ।

२०५२ सालमा निर्माण भएको पार्टी कार्यालय भत्केपछि एमालेले केही समय पार्टीको काम बल्खुबाटै टेन्टमा राखेर गरेको थियो । तर, केही समयपछि धुम्बाराही सरेर काम गर्दै आएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रसँग एकता गरेर नेकपा गठन भएपछि भने केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्दै बल्खुमा भवन बनाएर सर्ने निर्णय गरेको थियो । ०७२ सालको भूकम्पले क्षति पु¥याएपछि तत्कालीन एमालेले उक्त भवनको पुनर्निर्माण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । तर, समितिले काम अगाडि बढाउनै लाग्दा पार्टी एकीकरणको काम शुरु भएको थियो ।

पार्टी एकीकरण भएपछि नेकपाले सोही ठाउँमा केन्द्रीय कार्यालय बनाउने सहमति गरेको थियो । तर, पछिल्लो समय सचिवालय र स्थायी कमिटीले पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय गरेको छ । जसका कारण अबको केही साताभित्र यस विषयमा पार्टीले ठोस निर्णय गरेर भवन निर्माणको काम अगाडी बढ्ने नेताहरुले बताउदै आएका छन् ।