जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १४:०२

जनताको अपेक्षाअनुसार सरकार चल्न सकेन, सुनसरी घटनाको निष्पक्ष छानबिन होस् : प्रचण्ड


काठमाडौं, साउन १४ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैली जनताको अपेक्षाअनुसार हुन नसकेको टिप्पणी गर्दै सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

उहाँले देशको राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै बढ्दो असहजता र सामाजिक तनावलाई संवाद तथा सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै संयोजक दाहालले जनताले सुशासन, सामाजिक न्याय, बेथिति अन्त्य र सुशासनको अपेक्षासहित वर्तमान सरकारलाई अत्यधिक बहुमत दिएको भए पनि अहिले त्यसअनुरूप परिणाम नदेखिएको बताउनुभयो। “राजनीति सहज छैन, जनताले धेरै आशा र अपेक्षा राखेर रास्वपालाई बहुमत प्रदान गर्नुभयो, सुशासन, सामाजिक न्याय, बेथिति र अराजकताका विरुद्ध काम होस् भन्ने अपेक्षा थियो तर त्यसअनुसार काम नभएको कुरा जताततै सुनिन थालेको छ,” उहाँले भन्नुभयो।

उहाँले पछिल्लो समय एकपछि अर्को नकारात्मक घटना दोहोरिँदा जनतामा आशाभन्दा बढी निराशा र असुरक्षाको भावना बढ्दै गएको उल्लेख गर्नुभयो। “जनता झन् पछि झन् झस्कने अवस्थामा पुगिरहेका छन्, सरकार लोकतन्त्रको सुदृढीकरण र संविधान संशोधनका विषयमा जुन ढङ्गले अघि बढिरहेको छ, त्यसले प्रश्न उठाएको छ, कतै सरकार निरंकुशतातर्फ त जाँदै छैन भन्ने चिन्ता बढेको छ,” उहाँले बताउनुभयो।

“सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद दुःखद घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ, सुरक्षा निकायको भूमिका के थियो ? त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन ? यसको विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गरिनुपर्छ”

संयोजक दाहालले सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा भएको विवाद हिंसात्मक बन्दै एक युवकको मृत्यु भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उक्त घटनाले सामाजिक तथा साम्प्रदायिक सद्भावमा असर पर्ने जोखिम औँल्याउँदै निष्पक्ष अनुसन्धानको आवश्यकता रहेको उहाँको भनाइ थियो। “सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद दुःखद घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ, सुरक्षा निकायको भूमिका के थियो ? त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन ? यसको विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गरिनुपर्छ,” उहाँले माग गर्नुभयो।

उहाँले देशमा उत्पन्न जटिल परिस्थितिमा सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले संयम अपनाउँदै संवादको माध्यमबाट समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। संकटका बेला सरकारको नेतृत्वदायी भूमिका अझ प्रभावकारी हुनुपर्ने भए पनि त्यसमा कमी देखिएको उहाँको टिप्पणी थियो।

संयोजक दाहालले लोकतन्त्रप्रतिको सरकारको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउँदै लोकतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले खुलामञ्चमा सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरेको घटनाले समेत राजनीतिक सन्देशबारे प्रश्न खडा गरेको बताउनुभयो।

उहाँले वर्तमान परिस्थितिमा सरकार जनविश्वास कायम राख्ने, लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्ने र देशमा देखिएका राजनीतिक तथा सामाजिक चुनौतीको समाधान संवाद, सहमति र जिम्मेवार नेतृत्वमार्फत खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो।