जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार ०९:२०

दङ्गा नियन्त्रणमा सेनाको प्रयोगले समस्याको स्थायी समाधान दिँदैन : शंकर पोखरेल


काठमाडौं, साउन १४ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्ला दिनमा भीड व्यवस्थापनका क्रममा सुरक्षा निकायले देखाएको कमजोरीबारे गम्भीर समीक्षा गर्दै यसको वास्तविक कारण पहिचान गर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले समस्या समाधानका नाममा गरिने अल्पकालीन उपायले भविष्यमा यस्ता घटना दोहोरिने चेतावनीसमेत दिनुभएको छ।

महासचिव पोखरेलले संविधानसभा निर्वाचनका बेला लाखौँको भीड प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल सुरक्षा निकाय अहिले केही हजारको भीड नियन्त्रण गर्नसमेत कठिनाइमा परेको अवस्थाबारे गम्भीर अध्ययन आवश्यक रहेको बताउनुभएको छ। प्रहरीको मनोबल, साधन–स्रोत, व्यावसायिक क्षमता वा अन्य कुनै कारणले यस्तो अवस्था सिर्जना भएको हो भन्ने विषयमा निष्पक्ष मूल्याङ्कन हुनुपर्ने उहाँको धारणा छ।“संविधानसभाको समयसम्म लाखौँको भीड सहजै व्यवस्थापन गर्न सक्ने नेपालको सुरक्षा निकाय पछिल्ला दिनमा केही हजारको भीड नियन्त्रण गर्न पनि किन निरन्तर असफल देखिँदै छ ? यसको कारण खोज्नु र तत्काल समाधान गर्नु आजको पहिलो आवश्यकता हो, कतै प्रहरीको मनोबल गिरेकै परिणाम त होइन ?  साधन-स्रोतको अभाव र व्यावसायिक दक्षताको कमी हो कि ? अथवा अन्य कुनै अदृश्य कारण छ, जसले सुरक्षा निकाय दङ्गा नियन्त्रणको ‘मानक नियम’ (Norms) विपरीत मानवीय क्षति हुने गरी बुलेट नै प्रयोग गर्न पुगेको देखिन्छ ? यी कारणहरूको पहिचान नगरी निकालिने अल्पकालीन समाधानले समस्या पटक-पटक दोहोरिरहन्छ”, उहाँले भन्नुभएको छ।

नेपाली सेना कुन अवस्थामा परिचालित हुन्छ र कुन अवस्थामा हुँदैन ? भन्ने कुरा पनि अत्यन्तै अन्योलग्रस्त बनाइएको छ, कतै सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग भएको देखिन्छ, त कतै सरकारको आदेश आएन भन्दै आफैले सुरक्षाको जिम्मा लिएको अति संवेदनशील ठाउँको सुरक्षा जिम्मेवारीबाटै पन्छिन्छ !

उहाँले दङ्गा नियन्त्रणका क्रममा मानवीय क्षति हुने गरी गोली प्रयोग भएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै समस्या समाधानका लागि पहिलो चरणमै वास्तविक कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभएको छ।

महासचिव पोखरेलले नेपाली सेना परिचालनसम्बन्धी मापदण्ड र निर्णय प्रक्रियामा पनि स्पष्टता आवश्यक रहेको बताउनुभएको छ। कतिपय अवस्थामा सेना परिचालन हुने तर कतिपय संवेदनशील घटनामा परिचालन नहुने अवस्थाले अन्योल सिर्जना गरेको उहाँको भनाइ छ।  नेपाली सेना कुन अवस्थामा परिचालित हुन्छ र कुन अवस्थामा हुँदैन ? भन्ने कुरा पनि अत्यन्तै अन्योलग्रस्त बनाइएको छ, कतै सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग भएको देखिन्छ, त कतै सरकारको आदेश आएन भन्दै आफैले सुरक्षाको जिम्मा लिएको अति संवेदनशील ठाउँको सुरक्षा जिम्मेवारीबाटै पन्छिन्छ !”, पोखरेलको भनाइ छ ।

दङ्गा नियन्त्रणका अधिकांश घटनामा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सेना परिचालन हुने गरेको भए पनि राजधानीमा भएका केही घटनामा र पछिल्लो सुनसरी घटनामा देखिएको अवस्थाबारे स्पष्ट समीक्षा आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ। दङ्गा नियन्त्रणका सन्दर्भमा अधिकांश ठाउँमा जिल्ला सुरक्षा समितिको निर्णयमा सेना परिचालित भएको देखिन्छ तर राजधानीको भाद्र २३ र २४ को घटनामा भने परिचालित हुन मानेको देखिँदैन, अहिले सुनसरी घटनामा सेना परिचालनको दृश्य सामाजिक सञ्जालमा जसरी आइरहेको छ त्यो समस्या समाधानमा योगदान पुग्ने देखिँदैन, दङ्गा नियन्त्रणमा सेनाको प्रयोग तात्कालिक (अस्थायी) समाधान त होला, तर यसले समस्याको स्थायी समाधान दिन सक्दैन , पोखरेलको स्पष्ट धारणा छ ।

उहाँले यस्ता घटनाको दीर्घकालीन समाधान सरकार, राजनीतिक दल र नागरिक समाजबीचको समन्वय, संवाद र विश्वास निर्माणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ। पछिल्लो समय समाजमा राज्य, राजनीतिक दल तथा विभिन्न संस्थाप्रतिको भरोसा कमजोर बन्दै गएको सङ्केत गर्दै उहाँले सामाजिक विश्वास पुनःस्थापना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। “यस्तो घटनामा सरकार, राजनीतिक दल र नागरिक समाजको पहल नै मुख्य विषय बन्नु पर्दछ, यद्यपि अहिले नेपाली समाज कसैप्रति भरोसा नभएको ‘सामाजिक अराजकता’को स्थितिमा पुगेको देखिन्छ”, महासचिव पोखरेलले भन्नुभएको छ।