काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले विशेष महाधिवेशनका कारण गत प्रतिनिधि सभाको निर्वाचनमा हार बेहोर्नु परेको ठोकुवा गर्नुभएको छ ।
कांग्रेस संस्थापन इतर समूहले शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले गगन थापासहितका पदाधिकारीले गरेको बिशेष महाधिवेशनले कांग्रेसलाई चुनावमा हराउने काम गरेको निश्कर्ष सुनाउनु भएको हो ।
उहाँले पार्टीभित्रको आन्तरिक मतभेदले चुनावमा सोचेजस्तो परिणाम नआएको बताउनु भयो। कोइरालाले जेनजी आन्दोलनका मुखमा विशेष महाधिवेशन गर्नु नै घातक बनेको बताउनु भयो । गत भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको सिर्जना भएको र त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको कोइरालाको भनाइ छ।
‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ कोइरालाले भन्नुभयो ।
नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको बताउँदै कोइरालाले त्यसको प्रत्यक्ष असर कांग्रेसमा परेको बताउनु भयो । यस्तै उहाँले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता कोइरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको र लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको भन्दै सरकारको कडा आलोचना गर्नुभयो ।
त्यस्तै, सुनसरीको देवानगन्जबाट सुरु भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै सामाजिक सदभावका लागि सवै एकजुट हुनुपर्ने बताउनु भयो । ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ,’
कांग्रेसभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न राष्ट्रिय भेला आयोजना गरिएको उनको भनाइ थियो। भेलामा वर्तमान तथा पूर्व पदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको उनले बताए।













प्रतिक्रिया दिनुहोस्