इनरुवा, साउन १६ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेध आदेश लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार २०८३ साउन १२ गते राति ९:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश साउन १६ गते बिहान ८:३० बजेदेखि हटाइएको हो।
कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३)(क) बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सामूहिक गतिविधि गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।
निषेध आदेश इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न स्थानीयवासीको सहयोग अपेक्षा गरेको छ।













प्रतिक्रिया दिनुहोस्