जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार १५:३७

ई–पासपोर्टका लागि सास्ती : बिदाको दिन पनि लाइन, सरकारको सेवा फेरि प्रश्नमा


काठमाडौं,  साउन १७। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदनका लागि ई–पासपोर्ट बनाउन राहदानी विभाग पुगेका सेवाग्राहीले बिदाको दिनसमेत लामो लाइनमा बस्नुपरेको छ। विभागले अतिरिक्त सेवा सञ्चालन गरेको दाबी गरे पनि हजारौं नागरिकले समयमै राहदानी नपाउँदा सरकारी सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठेको छ।

ईपीएस आवेदनको अन्तिम म्याद नजिकिँदै जाँदा देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका युवाहरू दिनहुँ विभाग धाइरहेका छन्। सर्वसाधारणले वेबसाइट नखुल्ने, आवेदन प्रक्रिया ढिलो हुने, एसएमएस नआउने र फास्ट ट्र्याक सेवा पनि प्रभावकारी नभएको गुनासो गरेका छन्।

रोल्पाबाट राहदानी बनाउन आएका एक सेवाग्राहीले एक साताभन्दा बढी समय बितिसक्दा पनि राहदानी नपाएको भन्दै आवेदनको अन्तिम म्याद गुम्ने चिन्ता व्यक्त गरेका छन्। तीन दिनमै राहदानी तयार हुने भनिए पनि कुनै सूचना नआएको उनको गुनासो छ।

राहदानी विभागले भने नयाँ प्रणाली स्थिर बनाउने क्रममा प्राविधिक समस्या देखिएको र ईपीएस आवेदनका कारण एक्कासी सेवाग्राहीको चाप बढेकाले केही ढिलाइ भएको स्वीकार गरेको छ। विभागका अनुसार अत्यावश्यक राहदानी दुई कार्यदिनभित्र उपलब्ध गराउने व्यवस्था रहे पनि प्राविधिक त्रुटि भएका फाइलमा थप समय लाग्न सक्छ।

विभागले हाल दैनिक करिब १ हजार ५ सय राहदानी छपाइ तथा वितरण भइरहेको जनाएको छ। साउन १४ देखि २२ गतेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गरिएको छ भने सार्वजनिक बिदाका दिन पनि राहदानी वितरण जारी राखिएको छ।

यद्यपि, सेवा विस्तारका सरकारी दाबीबीच नागरिकले दिनौँ लाइन बस्नुपर्ने अवस्था दोहोरिँदा राहदानी व्यवस्थापनमा सरकारको तयारी र कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी वैदेशिक रोजगारीको अवसर गुम्ने जोखिममा रहेका युवाहरूले सेवा छिटो, सरल र प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।