जनता टाइम्स

१६ पुष २०७६, बुधबार १३:४०

वाह ! अर्थतन्त्रमा हुदैछ सुधार, व्यापार घाटा निरन्तर घट्दै


काठमाडौं, पुष १६

सरकारले व्यापार घाटा सुधारका लागि चालेका कदम प्रभावकारी बन्न थालेको छ । तथ्यांकले व्यापार घाटामा मासिक रुपमा सुधार हुदै गएको संकेत देखाएको छ । आर्थिक वर्ष २०७६\७७ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा सुधार हुदै कुल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ । निर्यात बढ्दा आयातमा भने ४ दशलमव २४ प्रतिशतले कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । यो गएको वर्षको पाँच महिनाको तुलनामा ४ दशमलव २४ प्रतिशतले कमी हो । गएको आर्थिक वर्षको सुरुको पाँच महिनामा ६ खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएको थियो ।

यस्तै पाँच महिनामा निर्यात २६ दशलमव ९७ प्रतिशतले बढेको छ । चार महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले जम्मा ३७ अर्ब रुपैयाँ बराबरको सामान मात्रै निर्यात गरेको थियो ।

पाँच महिनामा नेपालको व्यापार घाटा अघिल्लो वर्षको पाँच महिनाको तुलनामा ६ दशमलव ३० प्रतिशतले घटेको छ । नेपालको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आयात निर्यातको अनुपात २४ दशलमव ५८ प्रतिशत रहेको छ ।