काठमाडौं, मंसिर ३ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न क्वालिफायर–२ को खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो।
अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायकेले निर्णायक भूमिका निर्वाह गरे। उनले अविजित ४९ रनको योगदान दिँदै टोलीलाई फाइनलसम्म पुर्याए।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। चौथो ओभरमा जर्ज मन्से १५ बलमा ८ रन बनाएर आउट भए। उनलाई रिजन ढकालले पभेलियन फर्काए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा अग्रस्थानमा रहेका ढकालको यो १७औँ विकेट हो।
त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर आउट भए। उनलाई रन्जित कुमारले पभेलियन पठाए। सुदूरपश्चिमले पावरप्लेमा दुई विकेट गुमाएर ४१ रन बनाएको थियो।
तेस्रो नम्बरमा आएका स्कट कुगलेइनले ४ बलमा २ रन मात्रै बनाउन सके। त्यसैगरी ईशान पाण्डे ९ बलमा १० रन बनाएर आउट भए। कप्तान दीपेन्द्र सिंह ऐरीले १६ बलमा १५ रनको योगदान दिए पनि टोलीलाई दबाबबाट मुक्त गराउन सकेनन्।
१० ओभरको समाप्तिमा चार विकेट गुमाएर ५८ रन बनाएको सुदूरपश्चिमलाई जितका लागि अन्तिम १० ओभरमा ७६ रन आवश्यक थियो। १२.३ ओभरमा कप्तान ऐरी आउट भएपछि टोली थप दबाबमा परेको थियो। त्यसपछि आरिफ शेख पनि १० बलमा १० रन बनाएर आउट भए।
तर, एक छेउबाट इनिङ्स सम्हालेका थरिन्दु रत्नायकेले संयमित र प्रभावकारी ब्याटिङ गर्दै सुदूरपश्चिमलाई जित दिलाए। उनको अविजित ४९ रन नै टोलीको जितमा निर्णायक बन्यो।
बलिङतर्फ चितवनका रन्जित कुमारले दुई विकेट लिए भने सलहुद्दिन खान, उसामा मीर, कमल सिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।
चितवनका लागि डेविड मलानले सर्वाधिक अविजित ७१ रन बनाए। उनले ३९ बलमा अर्धशतक पूरा गर्दै एक छेउबाट टोलीको इनिङ्स सम्हालेका थिए। तर, अन्य ब्याटरबाट अपेक्षाकृत प्रदर्शन हुन नसक्दा चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
चितवनले पहिलो ओभरमा ११ रन जोड्दै आक्रामक सुरुवात गरे पनि १.३ ओभरमा कामिल मिशाराको विकेट गुमायो। यसअघि काठमाडौंविरुद्ध शतक बनाएका मिशारा ४ रनमै आउट भए। उनलाई स्कट कुगलेइनले आउट पारे।
त्यसपछि देव खनाल ९ बलमा ६ रन बनाएर आउट भए। उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पभेलियन पठाए। तेस्रो विकेटका रूपमा कप्तान रवि बोपारा ८ बलमा १ रन मात्रै बनाएर आउट भए। उनलाई हेमन्त धामीले आउट पारे।
चितवनले पावरप्लेमा तीन विकेट गुमाएर ३२ रन मात्रै जोड्न सकेको थियो।
त्यसपछि आएका विवेक यादवले ११ बलमा ३ रन र कुशल मल्लले ५ बलमा १ रन मात्रै बनाउन सके। उसामा मीर पनि ५ बलमा २ रन बनाएर आउट भए। यसले चितवनको इनिङ्स थप दबाबमा परेको थियो।
सलहुद्दिन खानले १५ बलमा १८ रन जोड्दै मलानलाई साथ दिए भने कमल सिंह ऐरीले ७ बलमा १० रन बनाए। मलानले भने अन्तिमसम्म टिकेर ७१ रनको अविजित पारी खेलेपछि चितवनले सम्मानजनक योगफल तयार पारेको थियो।
सुदूरपश्चिमका बलर स्कट कुगलेइनले सर्वाधिक तीन विकेट लिए। थरिन्दु रत्नायकेले दुई विकेट लिँदा दीपेन्द्र सिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले एक–एक विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले लगातार तेस्रोपटक एनपीएलको फाइनलमा स्थान सुरक्षित गरेको छ। अब शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँगको प्रतिस्पर्धाबाट प्रतियोगिताको उपाधि विजेताको टुंगो लाग्नेछ।













प्रतिक्रिया दिनुहोस्