जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार १७:०२

जनप्रतिनिधिले जनताको आलोचना गर्ने होइन, विश्वास जित्नुहोस् : शंकर पाेखरेल


काठमाडौं, मंसिर ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको आलोचना गर्नेभन्दा उनीहरूको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता र व्यवहार चुनाव जितेपछि पनि कायम राख्न आग्रह गर्नुभयो ।

जनताले गल्ती गरे भन्दै उनीहरूलाई होच्याउने वा गाली गर्ने नभई सम्झाउने जिम्मेवारी जनप्रतिनिधिहरूकै भएको उहाँले बताउनुभयो । ‘जनताले गल्ती गरे भनेर गाली गर्ने होइन, उनीहरूलाई सम्झाउने जिम्मा हाम्रो हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘जनतालाई सम्झाउनुहोस्, उनीहरूसँग नजिक हुनुहोस् र आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोस् ।’

महासचिव पोखरेलले जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गरे वा नगरेको विषय आगामी निर्वाचनबाट स्पष्ट हुने बताउनुभयो । ‘तपाईंहरूले कस्तो काम गर्नुभयो भन्ने मूल्यांकन आगामी निर्वाचनपछि हुन्छ,’ उहाँले भन्नुभयो, ‘आउने चुनावपछि हाम्रै पार्टीका जनप्रतिनिधिलाई जनताले जिम्मेवारी सुम्पिए भने तपाईंहरूले जनअपेक्षाअनुसार काम गरेको ठहरिन्छ । मूल्यांकन पनि त्यसैअनुसार हुन्छ ।’

उहाँले एमालेका जनप्रतिनिधिहरूले सुशासनको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । साथै, प्रदेश राजधानी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रदेश सरकारले गरेका कामकारबाहीको समेत निगरानी गर्न आग्रह गर्नुभयो ।