काठमाडौं, मंसिर ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह बलियो भएमा विकास निर्माणले गति लिने बताउनुभएको छ ।
आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहलाई सबल र सक्षम बनाउने काम एमालेले नै सुरु गरेको दाबी गर्नुभयो । ‘स्थानीय तहको सबलीकरणको कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला जनश्रमदानमार्फत गाउँगाउँमा सडक र नहर निर्माण गर्ने कामको थालनी एमालेले नै गरेको हो ।’

अध्यक्ष ओलीले स्थानीय तहको सशक्तीकरणले देशलाई कुनै हानि नपुग्ने उल्लेख गर्दै स्थानीय सरकारलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘सक्षम स्थानीय तहबाटै जनताले संघीयताको वास्तविक अनुभूति गर्न पाउँछन् ।’
राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू सबै गाउँगाउँमा पुग्न सम्भव नहुने भन्दै उहाँले राज्यको प्रतिनिधिका रूपमा स्थानीय तहका जनप्रतिनिधिहरू जनताको घरदैलोसम्म पुग्नुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्