जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १४:३३

अरू दल नासिएर हामी झाङ्गिन्छौँ भन्ने भाव नराखौँ : रास्वपा सांसद राजीव खत्री


काठमाडौं, मंसिर ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणका क्रममा नेपाली कांग्रेसको आन्तरिक विवाद र नेकपा एमालेका नेताहरूको भूमिकाबारे गरिएको अनौपचारिक संवादको अडियो सार्वजनिक भएपछि सांसद राजीव खत्रीले त्यसप्रति आलोचनात्मक टिप्पणी गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद खत्रीले अन्य राजनीतिक दल कमजोर बनेर त्यसको फाइदा आफ्नो पार्टीले लिन खोज्ने सोचले रास्वपालाई राजनीतिक रूपमा अघि बढाउन नसक्ने बताउनुभएको छ।

उहाँले सार्वजनिक संवादमा आफू सहभागी भएको भए कांग्रेसको आधिकारिकता गगन थापा पक्षले पाउनुपर्ने धारणा राख्ने उल्लेख गर्दै नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभएको छ। खत्रीले लेख्नुभएको छ, ‘त्यो अडियोमा मेरो आवाज हुन्थ्यो भने म चाहिँ भन्थेँ, कांग्रेसको आधिकारिकता गगनले पाउन्।’

उहाँले गगन थापालगायतका नेताहरू पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै पुस्तान्तरण र राजनीतिक रूपान्तरण समयको माग भएको बताउनुभएको छ। ‘गगनहरू पछिल्लो पुस्ताको हो । पछिल्लो पुस्ता जतिसुकै नालायक भए पनि समय उसैको हो । प्रतिस्पर्धा मजबुतसँग गर्ने हो, कमजोरसँग होइन,’ खत्रीको भनाइ छ।

चीन भ्रमणमा रहेका रास्वपाका सांसदहरूबीच भएको संवादको अडियो सार्वजनिक भएपछि त्यसले राजनीतिक वृत्तमा चर्चा पाएको छ। सार्वजनिक अडियोमा कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षले पाउनुपर्ने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेत अझ आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने तथा त्यसबाट रास्वपालाई राजनीतिक लाभ पुग्न सक्ने आशयको कुराकानी सुनिएको थियो।

उक्त संवादमा रास्वपाका सांसद श्रीराम न्यौपाने र प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटालगायतको आवाज सुनिएको सार्वजनिक विवरणमा उल्लेख छ।

यसै विषयलाई लिएर सांसद खत्रीले अन्य दलको कमजोरीमा आफ्नो राजनीतिक भविष्य खोज्ने प्रवृत्तिप्रति असहमति जनाउनुभएको हो। उहाँले निर्वाचनमा पुराना राजनीतिक दलप्रतिको असन्तुष्टिका कारण रास्वपालाई केही लाभ प्राप्त भएको स्वीकार गर्दै अब पनि त्यही परिस्थितिको अपेक्षा गर्नु उचित नहुने बताउनुभएको छ। ‘निर्वाचनमा पुरानाप्रतिको फ्रस्टेसनले थोरै लाभ पाएको सत्य हो । तर अब पनि अरू दल थप कमजोर बनून्, नालायक बनून् र त्यसको फाइदा हामीले उठाउन पाइयोस् भन्ने अपेक्षा राखियो भने हामी कहीँ पनि पुग्दैनौँ,’ उहाँले लेख्नुभएको छ।

खत्रीले जनताले रास्वपालाई दिएको विश्वासलाई स्थायी राजनीतिक उपलब्धिका रूपमा नभई जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ। ‘हामीले उधारोमा पाएको विश्वास साँवा–ब्याजसहित जनतालाई तिर्नुपर्ने छ,’ उहाँले भन्नुभएको छ।

सबै राजनीतिक दल र तिनका नेता–कार्यकर्ताले आफूलाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै खत्रीले स्वस्थ प्रतिस्पर्धाले मात्रै राजनीतिक दलहरूलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन सक्ने उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो अभिव्यक्तिको अन्त्यमा भन्नुभएको छ, ‘यो देशका हरेक दल र तिनका नेता–कार्यकर्ता सुध्रिऊन् । जसले हामीलाई थप जिम्मेवार र प्रतिस्पर्धी बनाओस् । अरू नासिएर हामी झाङ्गिन्छौँ भन्ने भाव नराखौँ ।’

राजीव खत्रीको यो अभिव्यक्तिले सार्वजनिक अडियोपछि रास्वपाभित्रै राजनीतिक प्रतिस्पर्धा, पुस्तान्तरण र अन्य दलप्रतिको दृष्टिकोणबारे फरक धारणा रहेको संकेत गरेको छ।