जनता टाइम्स

६ मंसिर २०८३, आइतबार ०७:४८

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि, भोलि मोदीसँग द्विपक्षीय वार्ता हुने


काठमाडौं, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो । उहाँ नेपाल वायुसेवा निगमको विमानबाट आज दिउँसो पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले आजै प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुका साथै प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुहुनेछ । सोही दिन उहाँले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिने जनाइएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर र सरकारले अघि सारेका नीतिगत प्रयासबारे जानकारी गराउनुहुनेछ ।

भारतीय लगानी आकर्षित गर्ने, व्यापारिक सम्बन्ध विस्तार गर्ने तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्य बढाउने विषयलाई पनि भ्रमणमा प्राथमिकता दिइनेछ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।