काठमाडौं, मङ्सिर ६ । युक्रेनमाथि रुसले गरेको ठूलो सैन्य आक्रमणका क्रममा प्रहार गरिएका दुईवटा क्रुज मिसाइल र एउटा ड्रोन नेटो सदस्य राष्ट्र पोल्यान्डको भूभागमा खसेपछि युरोपको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ ।
पोल्यान्डले घटनालाई रुसको जानाजानी गरिएको उक्साहटको संज्ञा दिएको छ । नेटोका महासचिव मार्क रुटले घटनालाई हवाई क्षेत्रको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गर्नुभएको रोयटर्सले जनाएको छ ।
चीनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच त्रिपक्षीय शिखर वार्ता भएको केही समयपछि रुसले युक्रेनका विभिन्न सहरमा व्यापक आक्रमण गरेको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा भएको आक्रमणमा एक बालक र उद्धारकर्मीसहित केहीको मृत्यु भएको छ । आक्रमणमा दर्जनौँ मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, मध्यपूर्वमा अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न कूटनीतिक प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन । इरानी विदेशमन्त्री अब्बास अराग्चीले आफ्नो देश कूटनीतिक समाधानकै पक्षमा रहेको बताउनुभएको छ ।
तर, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चिततासहित स्थायी सम्झौता हुनुपर्ने अडान राख्दै इरानका पछिल्ला सर्त अस्वीकार गर्नुभएको छ ।
कूटनीतिक प्रयास जारी रहेकै बेला बहराइनको एक औद्योगिक केन्द्रलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको खबर सार्वजनिक भएको छ । यसले मध्यपूर्वको तनाव थप बढाएको छ ।
विश्वका शक्तिशाली राष्ट्रका नेताहरूबीच शान्ति र अन्तर्राष्ट्रिय सुरक्षा कायम गर्ने विषयमा संवाद भइरहे पनि युक्रेन र मध्यपूर्वमा जारी सैन्य गतिविधिले विश्व सुरक्षा चुनौती थप जटिल बन्दै गएको विश्लेषण हुन थालेको छ ।













प्रतिक्रिया दिनुहोस्