काठमाडौं, मंसिर ७ । काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन् ।
नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकैको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको माइक्रोबस फेला पारेको हो । चोरी भएको माइक्रोबस कलंकीबाट फेला परेको थियो भने चोरीमा संलग्न रहेको आरोपमा दुवै जनालाई स्वयम्भूस्थित बुद्धपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्