जनता टाइम्स

७ मंसिर २०८३, सोमबार १०:३०

सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने डा. गोविन्द केसीको चेतावनी


काठमाडौं, मंसिर ७। चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै अन्यथा स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमतिका बुँदाहरू दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।

यसअघि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र समतामूलक पहुँच सुनिश्चित गर्नुपर्ने मागसहित सुरु गर्नुभएको २४ औँ सत्याग्रह २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग सम्बोधन गर्ने सहमति भएपछि स्थगित गर्नुभएको थियो। तर, सरकारले उक्त सहमति कार्यान्वयन गर्नुको साटो चिकित्सा शिक्षा ऐन र सुशासनको मर्मविपरीत निर्णयहरू गरेको भन्दै उहाँले कात्तिक महिनामा नौ दिन लामो २५औँ सत्याग्रह गर्नुभएको थियो।

कात्तिक २१ गतेको सहमतिपछि तत्काल तिहार र छठ पर्वको सार्वजनिक बिदा परेकाले सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिन थप समय दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।

जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएका संवेदनशील विषयमा सरकारले गरेका प्रतिबद्धताबाट पछि हट्न नमिल्ने डा. केसीको भनाइ छ। उहाँले सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयनका बेला बेवास्ता गर्ने सरकारी प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।

उहाँले अब पनि सहमतिका बुँदाहरू कार्यान्वयन नगरिएमा वा सहमतिविपरीतका गतिविधि जारी राखिएमा पुनः आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ। त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ।

डा. केसीले स्वास्थ्य र शिक्षाजस्ता जनसरोकारका आधारभूत क्षेत्रमा सुधारका लागि गरिएका सहमतिलाई तत्काल कार्यान्वयन गरी सरकारलाई आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार बन्नसमेत आग्रह गर्नुभएको छ।