जनता टाइम्स

७ मंसिर २०८३, सोमबार १४:११

नेपालबिना हाम्रा राम अधुरा हुन्छन्, विकसित भारत र समुन्नत नेपालकाे संकल्प पूरा गर्न सहयोग र सहकार्य गरेर अघि बढ्नेछौँ : मोदी


काठमाडौं, मंसिर ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै ‘नेपालबिना हाम्रा राम अधुरा हुन्छन्’ भन्नुभएको छ।

नेपालका प्रधानमन्त्री बालेन्द्र साहको पहिलो भारत भ्रमणका क्रममा आज दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री साह नेपालको प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा आउनुभएकोमा आफू अत्यन्त खुसी भएको बताउँदै मोदीले भन्नुभयो, “नेपालका प्रधानमन्त्री बालेन्द्र साह पहिलो पटक भारत भ्रमणमा आउँदा मलाई धेरै खुसी लागेको छ।”

केही महिनाअघि संयुक्त राष्ट्रसंघको महासभामा विश्वकै युवा प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दा नै आफूले साहको दूरदर्शिता देखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आज केही घण्टाको भेटघाटमा नेपालको भविष्य र भारतसँगको सम्बन्धबारे उहाँको स्पष्ट दृष्टिकोण र भिजन महसुस गरेँ।”

मोदीले नेपाली जनताले दिएको जनमतको सम्मान गर्दै दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण निर्णयहरू गरिएको बताउनुभयो। उहाँका अनुसार, “भारत र नेपालबीचको सम्बन्ध धेरै पुरानो र अटल विश्वासको छ। हाम्रो सम्बन्ध एकअर्कालाई अप्ठ्यारो पर्दा सहयोगी भावनामा आधारित छ।”

नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको सहयोगका लागि भारतले २४ हजार करोड नेपाली रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मोदीले उक्त रकम बाढीपीडित नागरिकहरूको हितमा खर्च हुने बताउनुभयो।

धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै उहाँले भन्नुभयो, “भगवान् राम र सीता नेपाल र भारतका हुनुहुन्छ। नेपालको बिना हाम्रा राम अधुरा हुन्छन्।”

आजदेखि सुरु भएको अयोध्या–जनकपुर रेल सेवाले दुई देशका दुई पवित्र धार्मिक स्थललाई जोडेको उल्लेख गर्दै मोदीले यसलाई नेपाल–भारत सम्बन्धको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो।

जलविद्युत् क्षेत्रमा सहकार्यबारे चर्चा गर्दै उहाँले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण तेस्रो आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धताले भारतमा नेपाली जलविद्युत्को खपतका लागि ठूलो सम्भावना उजागर गरेको बताउनुभयो। यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको विश्वास थियो।

नेपालका युवाहरूको प्रतिभा, ऊर्जा र सपनाको प्रशंसा गर्दै मोदीले भन्नुभयो, “नेपालका युवा पुस्ता प्रतिभा, ऊर्जा र ठूला सपना बोकेका छन्। भारत उनीहरूको सपना पूरा गर्न सधैँ सहयोग गर्न प्रतिबद्ध छ।”

उहाँले नेपालमा सूचना प्रविधि (आईटी) र कृषि उद्योगको विकासमा भारतले सहयोग गर्ने बताउनुभयो। त्यसैगरी, क्रिकेटको विकासका लागि आवश्यक खेल पूर्वाधार निर्माण र नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धिमा समेत भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“विकसित भारत र समुन्नत नेपालका आफ्ना संकल्प पूरा गर्न हामी आ–आफ्नो हिसाबले सहयोग र सहकार्य गरेर अघि बढ्नेछौँ,” मोदीले भन्नुभयो।

उहाँले नेपाल र भारतलाई माता सीता, भगवान् राम तथा भगवान् बुद्धको आशीर्वाद रहेको उल्लेख गर्दै भन्नुभयो, “भारत–नेपाल सम्बन्ध अमर रहोस्।”