जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ०९:२८

पाल्पामा ढुंगा प्रहारबाट ४५ वर्षीय पुरुषको हत्या, ३५ वर्षीय आरोपी पक्राउ


बुटवल, मंसिर ८ । पाल्पाको तिनाउ गाउँपालिका–६ मा ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ ।

मदिरा सेवनपछि भएको विवादका क्रममा ३५ वर्षीय नारायण लम्तरीले ढुंगा प्रहार गर्दा ४५ वर्षीय नन्दलाल बजगाईंको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आइतबार साँझ दुवै जना सँगै बसेर मदिरा सेवन गरेका थिए । सोही क्रममा सामान्य विवाद भएपछि झगडा हुँदा लम्तरीले बजगाईंमाथि ढुंगा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

ढुंगा प्रहारबाट टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बजगाईंलाई उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

घटनापछि फरार भएका लम्तरीलाई प्रहरीले सोमबार रैनादेवी छहरा गाउँपालिका–४ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।