काठमाडौं, मंसिर ८ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
सिख धर्मका प्रवर्तक गुरु नानकले समाजमा विद्यमान अन्धविश्वास, रूढिवादी परम्परा, जातीय विभेद र असमानता अन्त्य गर्दै समतामूलक, न्यायपूर्ण तथा सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुभएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।
गुरु नानकले दिनुभएको सत्य, करुणा, परोपकार, सहिष्णुता र मानवसेवाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उहाँको सन्देशमा उल्लेख छ । गुरु नानक जयन्तीले सबैलाई सत्य, न्याय र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपति पौडेलले गर्नुभएको छ ।
त्यसैगरी, उपराष्ट्रपति यादवले गुरु नानक जयन्ती अर्थात् प्रकाश पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बी र नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले गुरु नानकलाई धार्मिक अगुवाका रूपमा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा स्मरण गर्नुभएको छ ।
उहाँले गुरु नानकका विचारले विविधताबीच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावलाई प्रोत्साहन गर्दै समतामूलक, सौहार्दपूर्ण तथा सहअस्तित्वमा आधारित समाज निर्माणका लागि प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्